मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा


एजेन्सी, १३ वैशाख । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाए ।

शुभमन गिलको अर्धशतक अनि डेविड मिलर, अभिनव मनोहर र राहुल तेवाटिया आक्रामक ब्याटिङमा गुजरातले दुई सय रनको स्कोर कटाएको थियो ।

गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए । मिलरले २२ बलमा ४६ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे । अभिनव मनोहरले २१ बलबल खेल्दै समान ३ चौका र छक्का प्रहार गरी ४२ रन जोडे । तेवाटियाले ५ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २० रन बनाए ।

अभिनव, मिलर र तेवाटिया चम्कँदा गुजरातले अन्तिम चार ओभरमा ७० रन जोडेको थियो । विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भएका थिए ।

मुम्बईका पियुष चावलाले २ तथा अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले समान १–१ विकेट लिएका थिए ।
बलिङमा गुजरातको अफगानी स्पीन जोडी रासिद खान र नुर अहमद चम्कपिएपछि गुजरातले मुम्बईलाई १५२ रनमै रोक्न सफल भयो । कप्तान हार्दिकले मुम्बईका कप्तान रोहित शर्मालाई दोस्रो ओभरमै कट एण्ड बोल्ड गरे । त्यसपछि मुम्बईले नियमित अन्तरमा विकेट गुमायो । रासिदले इशन किसन र तिलक बर्माको विकेट लिए । नुरले क्यामरुन ग्रीन र सूर्यकुमार यादव र हार्ड हिटर टिम डेविडलाई आउट गरे ।

मुम्बईका लागि नेहाल वाडेरले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले समान १३ रन बनाएका थिए ।

गुजरातका नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रासिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहित शर्माले पनि २ विकेट लिए ।

सात खेलमा पाँचौ जित हात पारेको गुजरातले १० अंक जोडेको छ । शीर्ष स्थानको चेन्नाई सुपर किंग्स समान अंक जोडेपनि रनरेटमा पछि पर्दै गुजरात दोस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार