तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


सिरहा, ७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले लक्ष्मीपुर पतारी गाउँपालिकाकाका तत्कालीन अध्यक्ष राम बल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।

पुल निर्माणका सम्बन्धमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको पाइएको अख्तियारको भनाइ छ ।

२३ जना प्रतिवादीउपर फरक–फरक सजाय र बिगो बमोजिमको जरिवाना गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

तत्कालीन अध्यक्ष रामबल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मागदाबी गरिएको छ । मिलेमतोमा नियम विपरीत प्रतिवादीले २६ लाख ४६ हजार र ५ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार