हालान्डले गोल गर्दा म्यानचेष्टर सिटी विजयी


एजेन्सी, ३ वैशाख । एर्लिङ हालान्डको दुई गोल मद्दतमा प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले शनिबार लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ ।

सिटीले लिग लिडर आर्सनलसँग अंक दूरी जम्मा ३ मा झारेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीले पहिलो हाफमै ३ गोल गरेको थियो । जोन स्टोन्सले पाँचौ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । त्यसपछि हालान्डले १३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्रर पारे भने २५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

लेस्टरका लागि केहलेची इहनाचोले ७५औं मिनेटमा एक गोल फर्काएका थिए ।

जितपछि दोस्रो स्थानको सिटीको ३० खेलबाट ७० अंक भएको छ । समान खेलबाट आर्सनलको ७३ अंक छ ।

आइतबार वेष्टह्यामसँग खेल्दा आर्सनललाई अंक दूरी बढाउने मौका हुनेछ । त्यसपछि आर्सनल र सिटीको खेल हुनेछ ।

लिगमा खराब प्रदर्शन गरिरहेको चेल्सी शनिबार ब्राइटनसँग २–१ ले पराजित भयो । ब्राइटनले सुरुमा पछि परे पनि कमब्याक गरेको थियो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कोनोर गालेघरले १३औं मिनेटमा गोल गरी चेल्सीलाई अग्रता दिलाएका थिए । तर ड्यानी वेलब्याकले ४२औं मिनेटमा ब्राइटनका लागि बराबरी गोल गरे भने जुलियो एनसिसोले ६९औं मिनेटमा विजयी गोल गरे ।

हारपछि चेल्सी ३१ खेलबाट ३९ अंकसहित ११औं स्थानमै छ । २९ खेलबाट ४९ अंक जोडेको ब्राइटन सातौं स्थानमा छ ।

लिगमा तेस्रो स्थानको न्युकासल एस्टन भिल्लासँग ३–० ले पराजित भएको छ । भने पाँचौ स्थानको टोटनहम एएफसी बर्नमाउथसँग ३–२ ले पराजित भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार