काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज फेरीपनि मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे हुने भएको छ ।
परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने छ भने अन्य मन्त्रीहरुको नाम भने अझैसम्म पनि टुंगो लागेको छैन ।
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले केही दिनमै गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी छ । तनहुँ– १, बारा– २ र चितवन– २ मा उपनिर्वाचन हुँदैछ ।


