जनकपुरधाम, १ बैशाख । मधेस प्रदेश सरकारका निवर्तमान गृहमन्त्री र राज्यमन्त्री तथा वर्तमान सचिवले विल भर्पाइबेगर शान्ति सुरक्षा खर्च शीर्षकमा लाखौं रुपैयाँ बुझेका छन् ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदनमा मधेस प्रदेशका तत्कालिन गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुबी कर्ण र सचिव रामकुमार महतोले आफ्नो अधिकारमा नै नरहेको शान्ति सुरक्षा वापत यति रकम बुझेको उल्लेख छ ।
मधेस प्रदेश (मन्त्रिपरिषद्)को २०७५ जेठ १० र २०७७ चैत २४ गतेको निर्णयमा गृह तथा सञ्चार मन्त्रालयका मन्त्री तथा सचिवलाई भैपरी आउने शान्ति सुरक्षा खर्चबापत मन्त्रीलाई प्रतिपटक ३० हजारका दरले मासिक ५ पटकसम्मको १ लाख ५० हजार, राज्यमन्त्रीलाई मासिक १ लाख तथा सचिवलाई एकपटकमा १० हजारका दरले मासिक ५ पटकसम्म ५० हजार प्रतिमहिना गरी मासिक ३ लाखका दरले नबढ्ने गरी खर्च गर्न पाउने र यस्तो रकम सम्बन्धित अधिकारीले बुझिलिई खर्च गर्न सक्ने तथा बिल भरपाई पेश गरिरहनु नपर्ने उल्लेख छ ।
सो बमोजिम गतवर्ष मन्त्री तथा राज्यमन्त्रीलाई ३० लाख र सचिवलाई ६ लाख गरी कुल ३६ लाख रुपैयाँ विल भर्पाइबेगर खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ ।
अन्य प्रदेशमा यस्तो खर्च नगरेको हुँदा यसलाई औचित्यपूर्ण मान्न नसकिने महालेखापरीक्षक टंकमणी शर्मा दंगालले बताए ।


