काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले फेरि सरकारको नेतृत्व लिने दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको बताएका हुन् ।
सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरेपनि उनीहरुको हितमा धेरै काम गर्न नसकेको देउवाको स्वीकारोक्ति छ ।


