काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाब दिएका छन् ।
संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्याएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे । पाँच वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने थापाले बताए ।
महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे । शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाब दिन पनि शिक्षकहरुलाई आग्रह गरे ।


