उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु, नयाँ नेतृत्व चयनका लागि चुनाव


काठमाडौं, २८ चैत । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ ।

साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ भने यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् । नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।

उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।

उमेशलाल श्रेष्ठको प्यानलबाट वस्तुगत तर्फको केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न लागेका नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले लगानीमैत्री वातावरण, रोजगारी सिर्जना, स्वदेशी उद्योगको प्रवर्द्धन, मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने सरकारको लक्ष्यमा साझेदारी लगायतका एजेण्डासहित चुनावमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी भने यसअघि नै निर्विरोध गरिसकेकाा छन् ।

जिल्ला नगरतर्फबाट चुनिने एक उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् ।

त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान र शकुन्तलाल हिराचन तथा एसोसिएटतर्फको उपाध्यक्ष पदमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार