काठमाडौं, २५ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य तथा २०१५ सालको आम निर्वाचनमा धनकुटाबाट निर्वाचित सांसद तेजमान तुम्वाहाम्फेको ९७ वर्षको उमेरमा निधन भएको छ ।
वि.सं. १९८१ साल फागुन ६ गते पिता मचिन्द्रबहादुर तुम्वाहाम्फे र माता तौलीहाङमा जवेगु तुम्वाहाम्फेको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका तुम्वाहाम्फे पार्टीको सातौँ महाधिवेशन पश्चात् जननायक वीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य थिए ।
यसैबिच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद तेजमान तुम्वाहाम्फेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । स्वर्गीय तेजमान तुम्वाहाम्फेले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा पुर्याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ उहाँका शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
स्वर्गीय तुम्वाहाम्फेप्रति उच्च सम्मान प्रकट गर्दै २०७९ चैत्र २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउनुका साथै चैत २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गरिने पनि उनको भनाइ छ ।


