जनकपुरधाम । जनकपुरधामका निजी विद्यालयमा देखिएका विभिन्न समस्या समाधान गर्न निजी विद्यालयसम्बन्धी चार वटा संस्थाले नगर प्रमुखसमक्ष ध्यानाकर्षण गराएका छन्। प्याब्सन, एन–प्याब्सन, हिसान र एम–प्याब्सनले संयुक्त रूपमा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यालयको अनुमति, शुल्क निर्धारण, वर्गीकरण, पाठ्यपुस्तक तथा अनुगमनलगायतका विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
नगर प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा जनकपुरधाम शैक्षिक हबका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै शैक्षिक वातावरण सुदृढ र सबल बनाउन आवश्यक रहेको जनाइएको छ। नगर प्रमुखको पहल र कदमहरू सकारात्मक भए पनि विभिन्न छापा, मिडिया तथा डिजिटल प्लेटफर्ममा बेलाबेलामा आउने समाचार तथा स्टाटस र खाका प्रचारबाजीमा मात्र सीमित भएको भन्दै निजी विद्यालयका छाता संगठनहरूले ध्यानाकर्षण गराउनुपरेको उल्लेख गरेका छन्।
ध्यानाकर्षण पत्रमा अनुमति प्राप्त गरी अघिल्लो कक्षा सञ्चालन गर्न अनुमति माग गरेका विद्यालयलाई चैत मसान्तभित्र अनुमति प्रदान गर्नुपर्ने र त्यसको सार्वजनिक जानकारी गराउनुपर्ने माग गरिएको छ। त्यस्तै, स्थानीय विषय लागू भए पनि हालसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेको भन्दै यसतर्फ पनि आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ।
संस्थागत विद्यालयको शुल्क निर्धारण भइसके पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै निर्धारित शुल्क लागू गराउनुपर्ने उनीहरूको माग छ। संस्थागत विद्यालयहरूको अनुगमन गरी वर्गीकरण गर्नुपर्ने भए पनि हालसम्म विभिन्न कारणले वर्गीकरण हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
अनुमति प्राप्त विद्यालयमध्ये केहीले अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेको अनुगमनका क्रममा भेटिए पनि हालसम्म त्यस्ता विद्यालयमाथि कारबाही हुन नसकेको भन्दै तत्काल आवश्यक प्रक्रिया अघि बढाउन माग गरिएको छ।
त्यसैगरी, दर्ता तथा अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयहरूलाई तत्काल बन्द गराउनुपर्ने तथा अनुमति प्राप्त गरे पनि सञ्चालनमा नरहेका विद्यालयको यकिन गरी आवश्यक प्रक्रिया पूरा गरेर अनुमति खारेज गर्नुपर्ने माग गरिएको छ।
प्याब्सन, एन–प्याब्सन, हिसान र एम–प्याब्सनका प्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गरेको उक्त ध्यानाकर्षण पत्रमा जनकपुरधामको शैक्षिक क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन नगरपालिकाले सम्बन्धित विषयमा तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।


