राजविराज । २१औँ शताब्दीमा समेत आर्थिक अभावका कारण महिलाले अस्पतालमा उपचार नपाएर सडकमा नै शिशु जन्माउनुपर्ने अवस्था रहेको घटना सप्तरीमा सार्वजनिक भएको छ। राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सुत्केरी गराउन पुगेकी एक गर्भवती महिलाले अस्पताल बाहिर सडकमा नै शिशुलाई जन्म दिएकी हुन्।
सप्तरीकी ३० वर्षीया बबिता पासवानले अस्पताल बाहिर सडकमा बच्चा जन्माएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा अस्पतालमा सुत्केरी गराउन पुगेकी उनलाई महँगो जाँच गराउनुपर्ने भनिएपछि अस्पताल बाहिरै बच्चा जन्माएको बताइएको छ।
घटनाबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई छानबिन गर्न निर्देशन दिइएको बताएका छन्। ‘यस विषयमा मैले मेसुलाई छानबिन गर्न निर्देशन दिइसकेको छु,’ सीडीओ थापाले भने, ‘उहाँले छानबिन गर्छु र दोषी पाइएका कर्मचारीलाई कारबाही गर्छु भन्नुभएको छ।’
गजेन्द्र नारायण सिंह अस्पताल संघीय सरकार मातहतको सरकारी अस्पताल हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा हाल काठमाडौंमा रहेका छन्। उनले अस्पतालका स्वास्थ्यकर्मीसँग बुझ्दा पैसा नभएका कारण महिला अस्पतालबाट बाहिरिएको र पछि अस्पतालको गेटनजिकै सडकमा बच्चा जन्माएको जानकारी आफूले पाएको बताए।
‘अस्पतालका स्वास्थ्यकर्मीहरूसँग बुझ्दा ती महिला गएराति करिब १ बजे अस्पताल पुगेकी थिइन्। डेलिभरी गराउनुअघि दुई–तीन हजार रुपैयाँ बराबरको सामान्य जाँच गराउनुपर्ने भएपछि उनीहरूसँग पैसा नभएको बताएका थिए,’ डा. झाले भने।
उनका अनुसार त्यसपछि अस्पतालले आमा सुरक्षा कार्यक्रमअन्तर्गत आवश्यक रकम उपलब्ध गराउने जानकारी दिँदै उनीहरूलाई काउन्सिलिङ गरेको थियो। तर महिला र उनका आफन्तहरू अस्पतालबाट फर्किएर गएको उनले बताए।
‘त्यसपछि बिहान करिब ४ः३० बजे अस्पतालको गेटनजिकै सडकमा नै डेलिभरी गराएर उनीहरू बच्चासहित अस्पतालमा आएका थिए,’ झाले भने, ‘अस्पतालका स्टाफले नाल काटेर साल निकालेका थिए। स्वास्थ्य जाँचका लागि अस्पतालमै बस्न आग्रह गर्दा पनि नमानेर उनीहरू फर्किएका थिए।’
डा. झाले अस्पतालभित्रै हुने जाँचका लागि बिरामीलाई बाहिर पठाउन नमिल्ने बताए। यदि सम्बन्धित कर्मचारीले बाहिरबाट जाँच गराउन लेखेको वा बिरामीसँग गलत व्यवहार गरेको पाइएमा त्यसबारे छानबिन गरिने उनले स्पष्ट पारे।
आफू काठमाडौंमा रहे पनि घटनाको गम्भीरतालाई ध्यानमा राख्दै आजै राजविराज फर्किने र छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने उनले बताए। छानबिनबाट दोषी देखिए सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाही गरिने उनको भनाइ छ।
घटनाले सरकारी अस्पतालमा उपचारका लागि पुग्ने विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकले सहज र सम्मानजनक स्वास्थ्य सेवा पाउने अवस्थाबारे समेत गम्भीर प्रश्न उठाएको छ।


