रसुवा बाढी : मृतकको संख्या १ हजार ३ सय ५५ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन


जनकपुरधाम । रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३ सय ५५ जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भदौ २२ गते बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

प्राधिकरणका अनुसार रसुवामा १६६, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको मृत्यु भएको छ। मृतकमध्ये १८ जनाको मात्र सनाखत भई शव बुझाइएको विवरणमा उल्लेख छ।

बाढीपछि करिब ४ हजार १९६ जना सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीनमध्ये रसुवा प्रशासनबाट प्राप्त विवरणअनुसार करिब १ हजार ९६७ र नुवाकोटबाट करिब २ हजार ३४० नेपाली नागरिक छन्। त्यस्तै सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र विदेशी नागरिक करिब ५८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

यस अवधिमा १३ हजार ३३६ जनाको उद्धार गरिएको छ भने विभिन्न अस्पतालमा ६ हजार ६७२ जना घाइतेको उपचार भइरहेको छ।

उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएका छन्। हालसम्म ३१ वटा होल्डिङ सेन्टरमा ३ हजार ४३३ जनालाई राखिएको विवरणमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरमार्फत १ हजार ११५ पटक हवाई उडान गरेको छ। काठमाडौं तथा प्रभावित क्षेत्रमा निजी र सुरक्षाकर्मीका हेलिकप्टरबाट समेत उद्धार तथा राहत सामग्री ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ।

विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६.७ प्रतिशत र धादिङका ९९.८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ।

सरकारले रसुवा, नुवाकोट र धादिङका लागि क्रमशः १ करोड, १ करोड र ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकाका लागि थप १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार