सप्तरी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नौ दिनदेखि सम्पर्कविहीन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ३१ वर्षीय सञ्जयकुमार साह अन्ततः जीवितै भेटिएका छन्।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका साहलाई नेपाली सेनासहितको उद्धार टोलीले शुक्रबार कृष्ण जन्माष्टमीका दिन बिहान सकुशल उद्धार गरेको हो।
नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी साह त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। भदौ १० गते आएको बाढीपछि उनी सम्पर्कविहीन भएका थिए।
सञ्जयको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारमा निराशा छाएको थियो। आमा कपुरदेवी र श्रीमती लक्ष्मी साह उनको खबरको प्रतीक्षामा थिए। खोजीका लागि जेठान देवकुमार साह घटनास्थलमै पुगेका थिए। तर, दिन बित्दै जाँदा परिवारको आशा कमजोर हुँदै गएको थियो।
श्रीमती लक्ष्मीलाई सञ्जय सम्पर्कविहीन भएपछि सम्हालिनसमेत कठिन भएको थियो। उनी हाल माइतीमा छिन्। सञ्जय र लक्ष्मीकी अढाई वर्षीया छोरी छिन्।
तर, शुक्रबार सुरुङबाट सञ्जय जीवितै बाहिर आएपछि लामो समयदेखि शोक र निराशामा रहेको परिवारमा एकाएक खुसी फर्किएको छ। सञ्जयका बाबु रामफल साह, आमा कपुरदेवीलगायत परिवारका सदस्य उनलाई भेट्न काठमाडौं जाने तयारीमा छन्।
‘सबैलाई बचाउन खोज्दा म आफैँ फसेँ’
उद्धारपछि सञ्जयले सुरुङभित्र आफूले भोगेको अवस्थाबारे उद्धारकर्मी र नेपाली सेनाका अधिकारीलाई जानकारी गराएका छन्।
उनका अनुसार उनी आयोजनाको कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत थिए। सामान्य समयमा कन्ट्रोल रुममा चार–पाँच जना मात्र हुने भए पनि घटनाको समयमा त्यहाँ करिब ४०–४५ जना मानिस थिए।
बाढी तथा दुर्घटनाको अवस्था सिर्जना भएपछि आफ्नो जिम्मेवारी सबैको ज्यान जोगाउनु भएको उनले बताएका छन्।
‘कन्ट्रोल रुममा म भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो,’ उनले उद्धारकर्मीलाई बताएका छन्।
दुर्घटनापछि आफू एक्लै भाग्नुभन्दा पहिले सबैलाई सुरक्षित बाहिर निकाल्न खोजेको उनको भनाइ छ। सबैलाई भाग्न आग्रह गर्दै आफूले अरूलाई बाहिर पठाए पनि त्यस क्रममा समय बितेपछि अन्तिममा आफू सुरुङबाट निस्कन नसकेको उनले बताएका छन्।
‘सबैलाई बचाउने क्रममा मेरो समय गयो। अन्तिममा म निस्किनै पाइनँ र म फसेँ,’ उनले भनेका छन्।
‘अरू पनि सुरुङभित्र हुन सक्छन्’
सञ्जयका अनुसार सुरुङभित्र रहेका केही साथीहरूसँग केही समय सम्पर्क भएको थियो। तर, त्यसपछि उनीहरूसँग पनि सम्पर्क हुन सकेन।
उनले सुरुङ निकै लामो रहेकाले अझै अन्य व्यक्तिहरू पनि त्यहाँ फसेको हुन सक्ने बताएका छन्। बाढीको पानी सुरुङभित्र प्रवेश गरेको हुन सक्ने उनको अनुमान छ।
‘सुरुङ लामो छ। त्यहाँ पानी पनि भित्र पसेको होला,’ उनले भनेका छन्।
सुरुङभित्र नौ दिनसम्म एक्लै रहँदा आफूले महामन्त्र जप गर्दै समय बिताएको पनि सञ्जयले बताएका छन्।
सञ्जयको उद्धारले जगायो नयाँ आशा
नौ दिनसम्म सुरुङभित्र रहेर पनि सञ्जय जीवितै उद्धार हुनुले रसुवाको बाढीपछि सम्पर्कविहीन रहेका अन्य व्यक्तिका परिवारमा समेत नयाँ आशा पलाएको छ।
सञ्जयका परिवारजनले पनि सुरुङभित्र सम्पर्कविहीन रहेका अन्य व्यक्ति जीवितै हुन सक्ने आशा बढेको बताएका छन्।
सञ्जय दुई दाजुभाइमध्ये जेठा हुन्। उनका कान्छा भाइ सञ्जीव साह हुन्। लामो प्रतीक्षापछि छोरालाई जीवितै भेट्ने खबर पाएपछि अहिले साह परिवारमा खुसीको माहोल छाएको छ।


