जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकामा सञ्चालित माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा ८ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको पकेट विकास कार्यक्रम सञ्चालन गर्दा औरही गाउँपालिका–४ स्थित प्रगतिशील कृषक समूह र गाउँपालिकाबीच १५ लाख रुपैयाँमा सम्झौता भएको थियो।
सम्झौताअनुसार किसानलाई माछाका भुरा, माछा दाना, चुना लगायतका सामग्री वितरण गर्नुपर्ने भए पनि कम सामग्री वितरण गरी काम सम्पन्न भएको देखाएर झुट्टा बिल तथा भरपाईका आधारमा ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी लिने–दिने कार्य भएको अख्तियारको अनुसन्धानबाट देखिएको जनाएको छ।
आयोगले उक्त कार्यमा संलग्न रहेको आरोपमा औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख पशु अधिकृत रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र औरही गाउँपालिका–४ स्थित प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादव विरुद्ध आरोपपत्र दायर गरेको हो।
अख्तियारले चारै जनामाथि ८ लाख २ हजार ८७८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ।
अख्तियारका अनुसार तत्कालीन पशु अधिकृत रमेश नारायण शर्माले सरकारी कागजात अनधिकृत रूपमा सच्याई विवरण हेरफेर गरेको तथा आफू प्रमुख प्रशासकीय अधिकृतको पदमा नरहेको अवस्थामा समेत सोही पदको हैसियत प्रयोग गरी कागजातमा हस्ताक्षर गरेको आरोपसमेत लगाइएको छ।
यस्तै कृषक समूहका अध्यक्ष राम भजन यादवलाई सरकारी कर्मचारीसँग मिलेमतो गरी अनियमितताबाट प्राप्त नगद तथा गैरकानुनी लाभमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ। आयोगले उनलाई मूल कसुरदारसरह सजाय हुन मागदाबी गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा सरकारी तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बदनियतले कर्मचारी र कृषक समूहका पदाधिकारीबीच मिलेमतो गरी सम्झौताअनुसारको काम पूरा नगरी बढी भुक्तानी लिएको देखिएपछि आरोपपत्र दायर गरिएको हो।


