प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित


काठमाडौं । बलिङमा करण केसी तथा ब्याटिङमा अर्जुन कुमालले राम्रो प्रदर्शन गरेपछि मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।

विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । अब नेपालले आइतबार हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार