जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि ठूलो सङ्ख्यामा मानिस अझै बेपत्ता छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार मङ्गलबार साँझसम्म भोटेकोशी बाढीपछि मधेश प्रदेशका १९५ जना सम्पर्कविहीन भएकोमा ३० जना सम्पर्कमा आएका छन् । अझै १६५ जना सम्पर्कविहीन अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि रसुवा र नुवाकोटलगायतका क्षेत्रमा रोजगारी तथा तीर्थयात्राका लागि पुगेका मधेशका नागरिक प्रभावित भएका छन् । सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले उनीहरूका परिवारमा चिन्ता र निराशा बढ्दै गएको छ ।
सप्तरीका ४८ जना अझै बेपत्ता
भोटेकोशी बाढीपहिरोपछि सप्तरीका ४८ जना अझै सम्पर्कविहीन छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बाढीपछि कुल ५२ जना सम्पर्कविहीन भएकोमा बुधबार दिउँसोसम्म तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको शव फेला परेको छ ।
सम्पर्कविहीनमध्ये १२ जना इन्जिनियर छन् । रोजगारीका क्रममा सप्तरीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा रहेका जलविद्युत् तथा पूर्वाधार आयोजनामा कार्यरत प्राविधिक जनशक्ति बाढीपहिरोको चपेटामा परेको बताइएको छ ।
सर्लाहीका १७ जनाको अवस्था अज्ञात
बाढीमा परेर सम्पर्कविहीन भएका परिवारका सदस्यहरू आफ्ना आफन्तको खोजीका लागि प्रभावित क्षेत्रमा पुगे पनि अवस्था पत्ता नलागेपछि निराश भएर घर फर्किन थालेका छन् ।
सर्लाहीबाट रसुवा र नुवाकोट पुगेका १७ जनाभन्दा बढी अझै सम्पर्कविहीन छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा २३ जना बेपत्ता भएको निवेदन परेकोमा छ जना सम्पर्कमा आएका छन् । बाँकी १७ जनाको अवस्था अझै अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
लालबन्दी नगरपालिका–५ मेजरगन्जका चिरन्जीवी खतिवडाका छोरा निश्चित खतिवडाले बुवासहित गोसाइँकुण्ड यात्रामा गएका पाँच जना र उनीहरू सवार गाडीको अवस्था अझै थाहा हुन नसकेको बताए । उनले नुवाकोट, चितवनलगायतका क्षेत्रमा पुगेर खोजी गरे पनि बुवाको कुनै जानकारी प्राप्त गर्न नसकेको बताए ।
मटिहानीमा गङ्गारामको प्रतीक्षामा परिवार
महोत्तरीको मटिहानी नगरपालिका–७ का ४० वर्षीय गङ्गाराम मण्डल भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवारमा पीडा झन् गहिरिएको छ ।
काठमाडौँस्थित रिचा टुर्स एन्ड ट्राभल्स कम्पनीमा कुकका रूपमा कार्यरत मण्डल मानसरोवर यात्रामा जाने यात्रुका लागि खाना पकाउने काम गर्दै आएका थिए । उनी भदौ ९ गते रसुवा पुगेको जानकारी परिवारलाई गराएका थिए ।
भदौ १० गते बाढी आएपछि उनको मोबाइलमा सम्पर्क हुन नसकेको पत्नी गुन्जादेवीले बताइन् । दुई छोरा र दुई छोरीका बुवा गङ्गारामको अवस्थाबारे एक सातासम्म कुनै जानकारी नआएपछि परिवार चिन्तामा छ ।
घरमा कोही अपरिचित व्यक्ति पुग्दा पनि पत्नी गुन्जादेवीले श्रीमान्को खबर आएको हो कि भन्दै सोध्ने गरेको र कुनै जानकारी नपाउँदा निराश भएर रुनुपर्ने अवस्था रहेको परिवारले जनाएको छ ।
राहतका लागि मधेशमा सहयोग जुट्दै
भोटेकोशी बाढीपीडितको सहयोगका लागि मधेशका विभिन्न जिल्लामा राहत सङ्कलन तथा आर्थिक सहयोग गर्ने क्रम पनि तीव्र बनेको छ ।
रौतहटको गौरमा स्थानीय युवाहरूले बुधबार बिहानदेखि बजारका पसलमा पुगेर चामल, चिउरा, चाउचाउ, दालमोठ, नुन, पानी, लत्ताकपडा, भाँडावर्तन तथा नगद सङ्कलन गरेका छन् ।
यसैगरी नेपाल नेत्र ज्योति सङ्घ गौर आँखा अस्पताल पुरेनवाका कर्मचारीले दुई दिनको तलबबापत १० लाख रुपैयाँभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएका छन् । परोहा नगरपालिकाले पाँच लाख तथा नेपाल बार एसोसिएसन रौतहटले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
पर्साबाट ९८ लाख सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पर्साका विभिन्न निकायले करिब ९८ लाख रुपैयाँ सहयोग गरेका छन् ।
जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घले १५ लाख एक हजार १०१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
त्यस्तै वीरगन्ज महानगरपालिका–१२ र १३ का मुस्लिम समुदायले एक लाख ७१ हजार रुपैयाँसहित करिब २५ क्विन्टल खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
भोटेकोशी बाढीबाट प्रभावितको खोजी, उद्धार र राहतका लागि सरकारी निकायसँगै मधेशका नागरिक, व्यवसायी, सामाजिक संस्था तथा विभिन्न समुदायबाट सहयोग जुट्ने क्रम जारी छ । तर ठूलो सङ्ख्यामा नागरिक अझै सम्पर्कविहीन रहेकाले उनीहरूको शीघ्र खोजी तथा अवस्थाबारे जानकारी गराउन परिवारजनले सरकारसँग आग्रह गरेका छन् ।


