भोटेकोशी बाढीपीडितका लागि मधेशबाट राहत सहयोग जुट्ने क्रम जारी


जनकपुरधाम । रसुवाको भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि मधेश प्रदेशका विभिन्न जिल्ला र क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

प्रदेशका उच्च पदाधिकारी, स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी, ज्येष्ठ नागरिक तथा विभिन्न सङ्घसंस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलगायत सरकारले तोकेका राहत कोषमा स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन्। कतिपय संस्थाले स्थानीय प्रशासनसँग समन्वय गरी समिति बनाएर समेत राहत रकम सङ्कलन गरिरहेका छन्।

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता सञ्जीपकुमार द्विवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम प्रदान गर्ने उल्लेख छ।

यसैगरी, धनौजी गाउँपालिकाले १५ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको गाउँपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीबाट समेत ८ लाख १५ हजार ५१५ रुपैयाँ जुटाउने निर्णय गरेको प्रशासन प्रमुख राजकुमार दासले जानकारी दिए।

महोत्तरीका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा ११ लाख एक रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। जन्मदिनमा हुने खर्च तथा उत्सवलाई प्रभावित परिवारको राहतमा योगदान गर्ने उद्देश्यले उक्त रकम सहयोग गरेको झाले बताए।

बर्दीबासकी सामाजिक अभियन्ता तथा योगगुरु सुमित्रा भट्टराईले ५१ हजार रुपैयाँ सहयोग गरेकी छन्। विपद्को समयमा पीडितप्रति साथ, सहानुभूति र मानवीय भावना महत्वपूर्ण हुने उनले बताइन्।

त्यस्तै, बर्दीबास उद्योग वाणिज्य सङ्घको सहकार्यमा श्रीकृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषण थापाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। बर्दीबास–१ की ७५ वर्षीया देवकुमारी पौडेलले आफ्नो ज्येष्ठ नागरिक बचत खाताबाट २० हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेकी छन्।

महोत्तरीको जलेश्वर कारागारमा रहेका ४५५ जना कैदीबन्दीले एक लाख एक हजार १०५ रुपैयाँ सहयोग गरेका छन्। कारागार प्रमुख अशोककुमार क्षेत्रीका अनुसार कारागारभित्र रहे पनि देशमा परेको विपत्तिबाट प्रभावित नागरिकप्रति मानवीय संवेदना प्रकट गर्दै कैदीबन्दीले रकम सङ्कलन गरेका हुन्।

यसैगरी, राजविराजस्थित साह (तेली) सेवा सदनले ११ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेको छ। भोटेकोशी बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम जम्मा गरिएको सेवा सदनका अध्यक्ष योगेन्द्रप्रसाद साहले जानकारी दिए।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि मधेशका विभिन्न तह र समुदायबाट भइरहेको यस्तो सहयोगले विपद्का बेला मानवीय एकता र सामाजिक उत्तरदायित्वको भावना थप बलियो बनेको देखिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार