मलङ्गवा । सर्लाहीको बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीको समूहले कुटपिट गरेको छ।
गत शुक्रबार विद्यालयमा आयोजित सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले छात्राहरूमाथि असभ्य शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार दिउँसो विद्यालय परिसरमै उनलाई लछारपछार गर्दै कुटपिट गरेका हुन्।
विद्यार्थीका अनुसार छात्रामाथि असभ्य शब्द प्रयोग गरेको भन्दै उनीहरूले प्रधानाध्यापक झालाई माफी माग्न आग्रह गरेका थिए। तर, झाले माफी माग्न अस्वीकार गरेपछि विवाद बढ्दै जाँदा विद्यार्थीको समूहले उनीमाथि कुटपिट गरेको हो। कुटपिटका क्रममा प्रधानाध्यापकलाई अर्धनग्न बनाइएको बताइएको छ।
विद्यार्थीले प्रधानाध्यापक झाको निजी गाडीमा समेत तोडफोड गरी क्षति पुर्याएका छन्। घटना भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले कापडलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
यता, प्रधानाध्यापक झाले भने आफूले कुनै पनि छात्रामाथि असभ्य शब्द प्रयोग नगरेको दाबी गरेका छन्। उनले मंगलबार जिल्ला प्रहरी कार्यालय मलङ्गवा पुगेर प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेललाई घटनाबारे जानकारी गराएका छन्।
झाका अनुसार सोमबारको घटनापछि आफू सहित बलरा नगरपालिका बाहिरबाट विद्यालय आउने १०–१२ जना शिक्षक विद्यालय जान सकेका छैनन्। शिक्षक विद्यालय जान नसक्दा पठनपाठन थप प्रभावित भएको उनले बताए।
घटनाको छानबिनका लागि बलरा नगरपालिकाले समिति गठन गर्ने तयारी गरेको छ। नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले छानबिन समितिले दिने प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही अघि बढाइने बताए।
पठनपाठन प्रभावित भएपछि नगरप्रमुख कुशवाहा, शिक्षा अधिकृत तथा स्थानीय सुरक्षा अधिकारीसहितको टोली मंगलबार विद्यालय पुगेको थियो। टोलीले विद्यालयमा उपलब्ध शिक्षकलाई पठनपाठन नियमित गर्न निर्देशन दिएको नगरप्रमुखले जानकारी दिए।
घटनाको छानबिनसँगै विद्यालयमा पुनः शैक्षिक वातावरण सहज बनाउन स्थानीय तह, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय आवश्यक देखिएको छ।


