जनकपुरधाम । मधेश आन्दोलनका सहयात्री लोसपाले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई कुनै पनि हालतमा समर्थन नगर्ने भएको छ । प्रदेश सरकार स्थापना कालदेखि नै जसपाको नेतृत्वमा सरकार रहेपनि मधेश आन्दोलन र जनभावना विपरीत काम गरेको हुनाले यादव नेतृत्वको सरकारलाई कुनै पनि हालतमा समर्थन नगर्ने आफ्नो अडान लोसपाले दोहराएको छ । जनभावना अनुसार काम गर्न नसकेको र मधेशमा भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै मन्त्रीलाई फिर्ता बोलाउनुका साथै सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिईसकेको र अझ पनि सरोज यादव सरकारको आचरण र व्यवहारमा कुनै सुधार नदेखिएको हुनाले समर्थ नदिने लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोको भनाइ छ । हंस खबर संग उनले, हामी आफ्नो अडानवाट रतिभरि टसमस नहुने बताए । लोसपाको अडानले मधेशा पुरानो सरकारको निरंतरतामा विराम लाग्ने र नयाँ नेतृत्वको सरकार गठन हुने सम्भावना बढेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरोज कुमार यादवलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएपछि जनाएको सामुहिक प्रतिवद्धता अनुसार मधेश प्रदेशमा अब केही दिन भित्र जसपा बाहेकको पहिलो पटक नयाँ नेतृत्वको सरकार गठनको सम्भावना प्रवल छ । मधेशका वर्तमान मुख्यमन्त्री यादवले चौंथो पटक विश्वासको मत लिइरहँदा भारतिय सिमावर्ती सुरसंडमा भएको सहमति अनुसार अब मधेश प्रदेशमा नेकपा एमाले, जनमत, नेकपा माओवादी केन्द्र र लोसपाको संयुक्त सरकार बन्ने स्रोतको दाबी छ । सरकारको नेतृत्व कसले कहिले आलपालो बाहेक अन्य विषयमा चार वटै पार्टी विच लिखित सहमति नै भएको थियो ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा १० दल छन् । सरकार गठन गर्न प्रदेश सभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादीका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा एसका ७, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । शर्मा मधेस आन्दोलनको बखत सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा अदालतबाट दोषी ठहर भइ जन्मकैद सजाय पाएपछि प्रदेश सभाले उनलाइ निलम्बन गरेको हो ।


