जनकपुरधाम । जनकपुरधाम धार्मिक दृष्टिकोणले ऐतिहासिक भूमि हो । यहाँ भगवान राम र सीतासँग जोडिएका कयौँ धार्मिक स्थान तथा मठमन्दिरहरु रहेको छन् ।
पा्रचिन मिथिला र मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा सीता राम र रामायणसँग सम्बन्धित विभिन्न मठ मन्दिरहरु रहे पनि त्यसको संरक्षण भने हुन सकेको छैन । जनकपुरधामस्थित राममन्दिरको ठीक अगाडि र धनुष सागर पोखरीको पश्चिम डीलमा रामायण भवन रहेको छ । जनकपुरधामको सो ऐतिहासिक रामायाण भवन अहिले आफ्नै अस्तित्व गुमाउने अवस्थामा पुगिसकेको छ ।
राम चरित मानस आउने युवा पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको रामायण भवन संरक्षण अभावमा जिर्ण हुँदै गएको हो । तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको सो भवनको संरक्षण तर्फ कुनै निकायले ध्यान दिन नसक्दा सो भवनको अस्तित्व नै मेटिने खतरा बढेको छ । धनुष सागर पोखरीको डीलमा रहेको रामायण भवनको भित्री भित्तामा रामचरित मानस लेखिएको छ भने सीतारामको विवाहसँग सम्बन्धित तस्बिरहरु कुँदिएका छन् । केही वर्ष अगाडिसम्म रामायण भवन श्रद्धालु भक्तजनहरुको लागि आकर्षणको केन्द्र नै थियो ।
जनकपुरधाम आउने पर्यटकहरु जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजा गरेपछि सो भवनमा समेत पूजा अराधनाका लागि पुग्ने गर्थे । तर अचेल सो भवन सर्वसाधारणका लागि बन्द गरिएको छ ।
रामायण भवनको नाउँमा काठमाडौँमा अक्षय कोष पनि रहेको छ । सो कोषमा ३ करोड भन्दा बढि रकम जम्मा रहेको छ । सो रुपैयाँकै ब्याजबाट पनि रामायण भवनको जिर्णोद्धार गर्न सकिने स्थानियहरु बताउँछन् ।
रामायण भवनको नाउँमा रहेको ११ बिघा जग्गा बेचेर सो अक्षय कोष खडा गरिएको थियो । रामायण भवनको नाउँमा धनुषाको धारापानीमा रहेको ११ बिघा जग्गामा नेपाली सेनाले क्याम्प निर्माण गरेपछि सो जग्गा सेनाले नै खरिद गरेको थियो ।
नेपाली सेनाले सो जग्गा ४ करोडमा खरिद गरेको थियो ।



