जनकपुरधाम, असोज १८ । मधेश प्रदेश सभाले प्रदेशसभाको दोस्रो अधिवेशन असोज २३ गते बोलाएको छ ।
मन्त्रीपरिषद्को निर्णयपछि मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुुख कार्यालयले विधिबत रुपमा पत्र पठाएपछि दोस्रो अधिवेशन आव्हान गरिएको प्रदेशसभा सचिवालयले जनाएको हो ।
चालु आर्थिक वर्षको बजेट पारित भएसँगै गएको असार ३१ गते दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्तय भएको दुई महिना २३ दिन पछि मधेश प्रदेशसभाको बैठक बस्न लागेको छ ।
मधेश सरकारले पहिलो अधिवेशनबाट आर्थिक विधेयक, बजेट विनियोजन विधेयक र ऐनहरुको संशोधन गर्न बनेको विधेयक मात्र पारित गराउन सकेका छन् भने विभिन्न विषयगत समितिमा चारवटा विधेयक दफाबार छलफलकै क्रममा रहेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनासँगै प्रदेशलाई चुस्तदुरुस्त र समृद्ध बनाउन कम्तिमा १ सय १५ वटा कानुन निर्माण गर्नुपर्ने प्रदेश सरकारले पहिचान गरेको थियो ।
जसमध्ये मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको पहिलो सरकारले ५७ वटा कानुन मात्रै बनाउन सफल भएको थियो ।
दोस्रो कार्यकालको ६१ घण्टा चलेको प्रथम अधिबेशनको ३६ पटक बसेको बैठकको क्रममा मुख्यमन्त्री सरोजकुमार यादवले दुई पटक विश्वासको मत प्राप्त गरेका थिए ।


