बारा, असोज १० । बारामा भारतीय युवकलाई गोली हानी हत्या गरिएको छ ।
मंगलबार साँझ तर्फ जिल्लाको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा २२ वर्षिय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।
मृतक सिंह भारतको मोतिहारी जिल्लाको सुक्लहिया गाउँका रहेको बारा प्रहरीले जनाएको छ । उनीसँगै सोही ठाउँ बस्ने २५ वर्षिय सुजित कुमार सिंह, २४ वर्षिय चञ्चल पाण्डे, २२ वर्षिय मनिष कुमार सहानी र २० वर्षिय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका बारा प्रहरीका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए ।
लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेपछि अन्य मोटरसाइकलबाट भारततर्फ भागेका थिए ।
प्रहरीले जनाएअनुसार घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ ।
यता घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।


