जनकपुरधाम, असोज ९ । सर्लाहीमा सामाजिक सदभाव बिगार्न खोज्ने माथि साइबर क्राइमको मुद्दा लगाउने चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरूको पहिचान गरी साइबर अपराध गरेको अभियोगमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको बसेको बैठकबाट सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुङ्गा मुढा प्रहार, उच्छृङ्खल गतिविधि गरी सामाजिक सद्भाव बिगार्ने खालका घटना घटाउने एवं घटनामा संलग्न जो कोहीलाई कडा कारबाही गर्ने निर्णय गरेको छ ।
गत असोज ४ गते साँझ मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबिच भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार भएको थियो । सो क्रममा तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थितिलाई नियन्त्रणमा लिन सकेको थिए । त्यसलगत्तै स्थानीय प्रशासनले सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । आजको बैठकले कर्फ्युको समय घटाएको छ ।
मलंगवा नगर क्षेत्रमा लगाएको कर्फ्यु आज राति ८ बजेदेखि बिहान ४ बजेसम्म रहने निर्णय गरेको हो । अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम जारी कर्फ्यु आदेश हाललाई केही परिमार्जन गरी राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र सीमित गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
दिनको समयमा कर्फ्यु आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेधसमेत गरेको जनाइएको छ ।


