जनकपुरधाम, असोज ९ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आफूले नेताहरुको ज्यान जोगाउन सकेको दावी गरेका छन् ।
पुर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता यादवले आफु काटिएरपनि कांग्रेसका अन्य नेतालाई जोगाएको बताएका हुन् ।
काँग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री यादवले भने, ‘मेरो हत्या प्रयास गर्ने व्यक्ति (श्यामबहादुर सापकोटा)का बारेमा बुझ्न पूर्व इन्सपेक्टरलाई जेलमै पठाए, त्यो मान्छेले महेन्द्र यादव भन्ने मान्छेलाई मैले नचिनेको, तर कांग्रेसका नेतालाई काट्न पाँच दिनदेखि झोलामा खुकुरी बोकेर हिडिरहेको थिए । जुनसुकै कांग्रेसी परेपनि म काट्थे भनेर त्यो मान्छेले भनेको रहेछ ।’
उनले खुकुरी प्रहारले निकै पीडा दिएपनि आफ्नै पार्टीका अरु नेताहरु काटिनबाट जोगिँदा खुसी लागेको समेत बताए ।
भदौँ २० गते भृकुटीमण्डपमा यादवमाथि खुकुरी प्रहार भएको थियो । नुवाकोटका सापकोटाले भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लवको एक कार्यक्रममा सहभागी भएका यादवमाथि खुकुरी प्रहार गरेको थियो ।
खुकुरी प्रहारबाट यादवको टाउको र गर्धनमा गम्भीर चोट लागेको थियो भने उनको ट्रमा सेन्टरमा उपचार भएको थियो । आक्रमण गर्ने सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।


