सर्लाही, असोज ५ । प्रेस सेन्टर नेपाल सर्लाहीका सदस्य स्वर्गीय अभिषेक यादवको पुण्यतिथिमा एक कार्यक्रम आयोजना गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत रहेको मानव सेवा आश्रममा प्रेस सेन्टर नेपाल सर्लाहीले स्वर्गीय पत्रकार अभिषेक यादवको स्मृतिमा मिष्ठान्न भोजनसहितको सेवा प्रदान छ ।
प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष श्रवण थापाको अध्यक्षतामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यसमेत रहेका सर्लाही जिल्लाका ईन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यता तथा नेता राजकुमार यादव, हरिवन नगर कमिटी अध्यक्ष अर्जुन पन्त, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) सहितका नेताहरु, प्रेस सेन्टर नेपाल सर्लाहीका पदाधिकारी, सदस्यहरु तथा पत्रकारहरुकोसमेत उपस्थितीमा कार्यक्रम गरिएको प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव राधेश्याम कुशवाहले जनाएका छन् ।
कार्यक्रममा सहभागीहरुले स्वर्गीय पत्रकार यादवप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै हरिवनका मेयर कमल बुढाथोकीले यादवको मृत्युले देशले एक होनहार पत्रकार गुमाएको बताए ।
त्यस्तै माओवादीका सर्लाही जिल्ला ईन्चार्ज काफ्लेले जनतालाई सुसुचित गराउने महान अभियान लिएर पत्रकारीता जगतमा अघि बढेका स्वर्गीय यादवको निधनले देशले अपुरणिय क्षति बेहोरेको बताए ।
आफ्नो संगठन सदस्य एवं आशालाग्दो एक कुशल पत्रकारको २१ बर्षको अल्पायुमै भएको निधनबाट बिक्षिप्त बनेको प्रेस सेन्टर नेपाल सर्लाहीले केहि दिन अघि स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।
जिल्लाको धनकौल– ४ स्थित महिनाथपुर घर भएका पत्रकार यादव गएको भदौँ २३ गते शनिबार बागमतिबाट रिपोर्टिङ सकेर घर फर्किंदै गर्दा बरहथवा– ८ स्थित टाँडी गर्जाहा पुलमा मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका थिए । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेपछि पत्रकार यादवको थप उपचारका लागि एलएस न्युरो अस्पताल कलैया लगिएको थियो । उनको उपचारको क्रममा आईतबार दिउँसो निधन भएको थियो ।


