एजेन्सी, असोज ४ । ६ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको प्रिमियर लिग क्लब आर्सनलले लगातार गोल गरेको छ ।
बुधबार राति समूह बी अन्तरगतको खेलमा आर्सनलले पीएसभी आइन्टहोभनलाई ४–० गोलले हराएको हो ।
आक्रामक खेल प्रस्तुत गरेको टोलीले पहिलो हाफमा नै ३–० अग्रता बनइसकेको थियो । ८ औँ मिनेटमा बुकायो साकाले आर्सनललाई अग्रता दिलाए भने लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा ग्याब्रियल जिसुसले तेस्रो गोल थपे ।
दोस्रो हाफमा कप्तान मार्टिन ओडेगार्डले चौथो गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । समूह कै अन्य खेलमा सेभियाले लेन्ससँग १–१ को बराबरी खेलेको थियो ।


