आजदेखि देशभरका विद्यार्थी पढाइबाट वञ्चित, शिक्षकहरु आन्दोलित


जनकपुरधाम, असोज ४ । आजदेखि देशभरका सामुदायिक विद्यालयहरु ठप्प पार्दै शिक्षकहरूको आन्दोलनमा उत्रेका छन् । यसले गर्दा ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन ठप्प भएको हो ।

नेपाल शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।

आन्दोलनले गर्दा रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार