जनकपुरधाम, भदौँ ३१ । देशव्यापीरुपमा आजदेखि चिकित्सकहरु आन्दोलनमा उत्रेका छन् ।
बागमाती प्रदेशको हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेका हुन् ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने जनाएको छ ।
सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा प्रशान्त बिडारीमाथि भदाँै २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको सङ्घले जनाउँदै आएको छ । चिकित्सकद्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटमसमेत दिएको थियो ।
सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।


