रौतहट, भदौँ ३० । रौतहटमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ मा आपसी विवादले उग्ररुप लिएपछि भएको झड्पमा एक युवकको मृत्यु भएको हो ।
शुक्रवार बेलुका साढे सातबजे दुई पक्षबीच भएको झडपमा कटहरिया ५ का मदन यादवका छोरा २५ वर्षीय सनील राय यादवको मृत्य्ु भएको हो । छुरा प्रहारबाट यादवको हत्या भएको प्रहरीले जनाए छ ।
खानेपानी कार्यालय छेउमै सुनील यादवका दाजुभाई र अर्को पक्षबीच भनाभन हुँदै झडप भएको थियो। झडपको क्रममा विपक्षीले सुनील यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेपछि उनी भुँईमा लडेर अचेत भएका थिए। लगत्तै स्थानीयले उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको सई रामछवेला यादवले बताए ।
घटनामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले कटहरियाका रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनका काका लक्षमी साहको छोरा २३ वर्षीय किसन साहलाई नियन्त्रणमा लिएको छ। मृतक यादवको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौर लैजाने तयारी भइरहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ओमप्रकाश खनालले बताए ।
दुवै परिवारका बालकहरुबीच शुक्रवार खेल्ने क्रममा भएको सामान्य गालीगलौजको विषयलाई लिएर भनाभन हुँदा झड्प भएको थियो । यस घटनामा रामबाबु साह, लक्ष्मी साह दाजुभाईको परिवारको अन्य केही सदस्यको संलग्नता रहेको तथा उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।


