अधिकारी पोखरीको सौन्दर्यकरण नाममा हाल बेहाल


जनकपुरधाम, भदौँ २१ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित ओसरा टोलमा रहेको ‘अधिकारी पोखरी’ सौन्दर्यकरणको काम नसकिँदै भत्किएको छ ।

संघीय सरकार मातहत रहेको संघीय आयोजना कार्यान्वयन इकाई मार्फत भइरहेको सौन्दर्यकरण अन्तर्गत अधिकारी पोखरीको पूर्वमा दुईवटा र पश्चिममा एउटा घाट गत असारमा निर्माण गरिएको थियो । तर निर्माण कार्य सम्पन्न नहुँदै कतै किनार भत्किएको छ भने घाट निर्माण कार्य अझै बाकी नै छ ।

आर्थिक वर्ष ०७८/०७९ मा ४५ लाख रुपैयाँको बजेटमा ढुंगाको पर्खाल तलैबाट उठाएको छ । पश्चिम छेउमा उत्तरतर्फबाट बाटोसँगै उठाइएका पर्खालमाथि सडकलाई जोडेर आर्थिक मसान्तको अन्तिम महिना असारमा पीसीसी ढलान गरिएको थियो, जुन भासिएर करिब दुई फिट तल झरेको छ । सौन्दर्यकरणको काम पूरा नहुँदै निर्माण गरिएको घाट ठाउँठाउँमा चर्किने र भासिने क्रम जारी नै छ ।

गुणस्तरहीन निर्माण सामग्री प्रयोग र जथाभावी काम गर्दा नवनिर्मित संरचना चर्किन र भासिन थालेको स्थानीयवासीको आशंका छ । पोखरी किनारमा ढलान गर्दा इस्टिमेट भन्दा निकै कम छडको प्रयोग गरिएको स्थानीय युवक रामजीवन यादवले गुनासो गरे ।

घाट निर्माण तथा किनारामा पीसीसी ढलान गरेर रेलिङ लगाउने काम जनज्योती कन्सट्रक्सनले गरिरहेको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर लक्ष्मण साहका अनुसार ९७ लाख रुपैयाँ बजेट रहेकोमा टेन्डर मार्फत ४४ प्रतिशत बिलोमा गत फागुन महिनामा ठेक्का कबुल भएको थियो ।

अहिलेसम्म काम वापत ठेकेदारलाई करिब ४१ लाख रुपैयाँ भुक्तानी कार्यालयले गरिसकेको साइट इन्जिनियर साहले जानकारी दिए । उनले जनाएअनुसार योजनाको काम अगामी मंसिरमा सकिने छ । कन्सट्रक्सन कम्पनीका सन्चालक रामदुलार यादव अब दुई÷अढाई लाख जतिको काम मात्र गर्न बाँकी रहेको बताए ।

योजनाको काम अन्तिम चरणमा पुग्दा अस्तव्यस्त अवस्थामा पुगेको नवनिर्मित कामले स्थानीयवासी खिन्न छन् । पोखरी सौन्दर्यकरणको नाममा गुणस्तरहीन काम गरेर कर्मचारी र ठेकेदारले मिलेर भ्रष्टाचार गर्न खोजेको उनीहरुको आरोप छ ।

पूर्व–दक्षिण किनारा तर्फ बनाएको घाट भासिएको र सडकतिरबाट भ्वाङ् नै परेको स्थानीय उपेन्द्र यादवले बताए ।

कार्यालयका इन्जिनियर साहले भने पारदर्शी तरिकाले नै स्थानीयलाई जानकारी गराएर काम गरेको दाबी गरे ।

तर कर्मचारी र ठेकेदारसँग थुप्रैपटक स्टिमेट र बजेटको विवरण माग्दा नदिएको स्थानीय मुनेश्वरकुमार यादव बताउँछन् ।

दुई नम्बर इँटा तथा कमसल निर्माण सामग्री प्रयोग गरेर काम भएको भन्दै वडा नं. १७ का वडाध्यक्ष रामवृक्ष यादवले पनि रोक्न लगाएका थिए । आफू निर्वाचित भएर आउनु अघिको काम भए पनि गुणस्तरमा स्थानीयले प्रश्न उठाएपछि कार्यालयमा फोन गरेर काम रोक्न लगाएको उनी बताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष रामवृक्ष यादव वडाअध्यक्ष बन्नुअघि नै २०७८÷७९ मा हनुमान उपभोक्ता समिति मार्फत पर्खाल उठाउने काम भएको थियो । इकाई कार्यालयले उपभोक्ता समितिका अध्यक्ष स्थानीय जीवक्ष यादव थिए । ४५ लाख रुपैयाँ खर्च गरेर पश्चिम र उत्तर तर्फको पर्खाल खडा गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार