जनकपुरधाम, भदौँ २१ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणप्रति ध्यानाकर्षण भएको भन्दै तत्काल दोषीलाई कडाकारबाही गर्न माग गरेका हुन् ।
मुख्यमन्त्री यादवले लोकतन्त्रको बुई चढेर निरंकुशतावादी शक्तिहरु सल्बलाइरहेको भन्दै यो घटना गम्भीर प्रकृतिको रहेको बताए ।
मधेशबाट राजनीति गर्ने सरल प्रकृतिका कांग्रेस नेता यादव आक्रमणको शिकार हुनु चिन्ताजनक रहेको उनले बताए । उनले केहीदिन देखि हरेक कुरामा लोकतन्त्रको खिल्ली उडाउने प्रवृत्ति बढ्दै गएकाले यसप्रति सचेत हुँदै लोकतन्त्रका पक्षधरहरु एकजुट हुनु आवश्यक रहेको उनले बताए ।
उनले लोकतन्त्रको आवरणमा लोकतन्त्रलाई नै ध्वंश पार्ने कदम अस्वीकार्य रहेको बताए । मुख्यमन्त्री यादवले उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।



