आज भारत र पाकिस्तानबीच भिडन्त


एजेन्सी, साउन ३ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज दुई भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ । पाकिस्तान र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे (दिवा–रात्रि) सुरु हुने जनाइएको छ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेका यी दुवै राष्ट्र यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगेको छ भने सोही समूहमा रहेका नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

बुधबार बिहान नेपाल र यूएईबीच अर्को खेल हुँदै छ । जारी प्रतियोगितामा यी दुवै टोली सान्त्वना जितको खोजीमा रहेको देखिन्छ । भारत र पाकिस्तान भने समूह विजेता बन्ने होडमा रहेका छन् । भारत–पाकिस्तान टोलीको चार—चार अङ्क प्राप्त गरेको छ ।

समूहगत चरणको अन्तिम खेलमा विजयी हुने टोली समूह विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेछ । त्यसै पनि विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई विशेष रूपमा लिने गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालबाहेक अन्य सातवटै राष्ट्रले आफ्नो ‘ए’ टोलीलाई समावेश गराएको छ । भारत र पाकिस्तानबीचको खेल श्रीलङ्काको राजधानी कोलम्बोस्थित प्रेमादासा रङ्गशालामा खेलिने भएको छ ।

अर्कोतिर, समूह ‘ए’ बाट दुई टेस्ट राष्ट्र श्रीलङ्का र बङ्गलादेश क्रमशः पहिलो र दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् भने यी दुवै टोली चार—चार अङ्कसहित सेमिफाइनलमा पुगेका छन् । चार अङ्कसहित अफगानिस्तान तेस्रो स्थानमा रहेपनि नेट रन रेटमा श्रीलङ्का र बङ्गलादेशसँग पछाडि परेको छ । चौथो स्थानमा रहेको ओमानले भने अहिलेसम्म खातासमेत खोल्न सकेका छैनन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार