जनकपुरधाम, असार १९ । जनकपुरधाममा रहेको निजी अस्पतालको लापरवाहीले एक यूवकको मृत्यू भएको छ । मृत्यू भएपछि आक्रोशित आफन्जनले अस्पतालमा तोडफोडसमेत गरेका छन् । तोडफोड गर्न थालेपछि प्रहरीको समन्वयमा पीडितसँग अस्पतालको मिलापत्र पनि गराइएको छ ।
यो घटना जनकपुरधाम स्थित गोदावरी हस्पिटल प्रालिमा उपचारको क्रममा धनुषाको धनौजी गाउँपालिका लखौरीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो । यसलगत्तै मृतकका आफन्तले हस्पिटलमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । तोडफोडबाट सामान्य क्षति भएको अस्पतालका सञ्चालक डा. अशोक अधिकारीले जानकारी दिए ।
परिवारजनले क्षतिपूर्तिको माग गर्दै प्रदर्शनसमेत गरेका थिए । मध्यराति उपचार खर्च मिनाहा र ५ लाख रुपैयाँ अस्पताल पक्षले उपलब्ध गराउने सहमति भएपछि आफूहरुले शव बुझेको मृतकका जेठान दीपक पटेलले जनाए । धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।
पपुकाो अत्यधिक पेट दुखेपछि आइतबार बिहान १० बजे उनलाई अस्पताल भर्ना गरिएको थियो । भर्ना भएदेखि नै बेला बेलामा चिकित्सक र नर्सले बेवास्ता गरेको र अन्यत्र अस्पतालमासमेत जान नदिएपछि मृत्यु भएको आफन्तजनको आरोप छ ।
यता हस्पिटलका इन्चार्ज सुशील कुमार साहले उपचारमा कुनै प्रकारको लापरबाही नभएको जिकिर गरे ।


