आयरल्याण्डसँग खेल्दै नेपाल


काठमाडौँ, असार १९ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको प्लेअफको लागि नेपालले मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बाब्वेमा भइरहेको विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्डविरुद्धको खेल प्रतियोगितामा अन्तिम हुनेछ ।
नेपाल र आयरल्यान्डबीचको खेल हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुने जनाइएको छ ।
एकातर्फ नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आयरल्याण्डसँग पहिलो पटक खेल्दैछ । टी–२० अन्तर्राष्ट्रियमा भने नेपालले आयरल्याण्डसँग ३ खेल खेलिसकेको छ भने सबैमा पराजित भएको थियो ।

त्यस्तै नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ । जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसरको रुपमा रहेको छ ।

समूह ए मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ भने दुवै टोलीसँग नेपाल पराजित भएको थियो ।

समूहमा पाँच टोलीमध्ये चौथो भएको नेपाल सुपर सिक्समा पुग्न असफल भएपछि सातौंदेखि दशौं स्थानसम्मको वरीयताका लागि प्लेअफ खेलेको थियो । जहाँ प्लेअफ सेमिफाइनलमा नेपालले समूह बी को पाँचौ स्थानमा रहेको यूएईलाई हराएर आयरल्याण्डसँग सातौं स्थानको प्लेअफका लागि भेट पक्का गरेको हो ।

नेपालले समूह चरणमा तीन खेल हार्दा अमेरिकालाई मात्र पराजित गरेको थियो । जिम्बाब्वेसँग पहिलो खेलमै ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएर सुकर सिक्स आशा कायम राखेको थियो । तर वेष्ट इन्डिजसँग १०१ रन र नेदरल्याण्ड्ससँग ७ विकेटले हारेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

समूह बी मा खराब प्रदर्शन गर्दै शीर्ष तीनमा अटाउन असफल भएपछि आयरल्याण्डको पनि विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार