जनकपुरधाम, असार १६ । सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकलगायतका प्रहरी अधिकारीहरु विरुद्ध किटानी जाहेरी परेको छ ।
आफूहरुलाई प्रहरी कार्यालयमा कुटपिट गरी यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका वडा नम्बर ८ स्थित खिरखिरियाकी २० वर्षिया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी छन् । जाहेरी दिने मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोककी २२ वर्षीया आरती साहकी बहिनी हुन् ।
नगराइनका विनोदप्रसाद साहकी छोरी मनिषाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीविरुद्ध जिल्ला हुलाक कार्यालय धनुषा मार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी दिइन् ।
त्यसअघि पीडित परिवार जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय पनि गएका थिए । तर प्रहरी उपरीक्षक विश्वराज खड्काले प्रहरीमाथि कुटपिट र अन्याय गरी उल्टै आफूहरुलाई थप पीडा दिएकाले हुँदै नभएको घटनाको जाहेरी नलिने भनेपछि आरतीका परिवार सरकारी वकिलको कार्यालय पुगेका थिए । त्यहाँ समेत जाहेरी नलिएपछि मनिषाले हुलाकबाट उजुरी पठाइन् ।
बयानको लागि बोलाएर प्रहरी कार्यालयमा आफ्नो परिवारका सदस्यमाथि दिएको चरम यातनामा संलग्न प्रहरीलाई कारबाहीको माग जाहेरीमा उल्लेख गरिएको छ ।
आरती मृत्यु प्रकरणको मिसिल सरकारी वकिल कार्यालयबाट जिल्ला प्रहरी कार्यालय धनुषामा थप बयानको लागि फर्काएपछि जेठ ३२ गते माइत पक्षका सदस्यलाई बोलाइएको थियो ।
बयानका लागि आमा निर्मला, बुबा विनोद, बहिनी मनिषा, भाइ प्रेम र मामा सन्तोष प्रहरी कायालयमा पुगेका थिए । प्रहरीले लेखेको बयानमा पाँचैजनालाई जबरजस्ती सही छाप गर्न कर गरेको र नमान्दा प्रहरी कर्मचारीले कुटपिटसहित थुनेर शारीरिक तथा मानसिक यातना दिएको जनाइएको छ ।
प्रहरी हिरासतबाट छुटेपछि राति प्रादेशिक अस्पताल जनकपुरमा गराएको उपचारको घाउजाँच फारम, निलडामको तस्वीर पनि जाहेरमा संलग्न छ ।
आरती जेठ ७ मा आफ्नै घरमा मृत भेटिएकी थिइन् । आरतीको श्रीमान् जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन व्याहुत अहिले पुर्पक्षका लागि थुनामा छन् । गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
६ जना प्रहरीमाथि हातपात तथा दुर्व्यवहार
धनुषा प्रहरीले आरतीका माइत पक्षले आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहार गरी पीडित बनाएको जनाएका छन् । सत्यतथ्य अनुसन्धान गरी मुद्दा दायर गर्दा नै आरतीका पति र ससुरा पुर्पक्षका लागि जेल चलान भएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ ।
आरतीको माइत पक्षले नाटकीय ढंगबाट दबाब सृजना गर्दा आफूहरु अन्यायमा परेको उनले बताए । उनले जनाएअनुसार जेठ ३२ गते बयानको क्रममा मोबाइलबाट फोटो भिडियो लिन खोजेको र नलिन आग्रह गर्दा उनीहरुले नमानेपछि रोक्ने प्रयास गर्दा प्रहरीमाथि कुटपिट तथा ज्यादती गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
त्यसक्रममा ६ जना प्रहरीमाथि आरतीका परिवारले कुटपिट तथा दुव्र्यवहार गर्दै कार्यालयमा समेत तोडफोड गरेको उनले दावी गरे ।
प्रहरी निरीक्षक दिनेश अधिकारी, नवराज खड्का र विक्रम साह, सई जयप्रकाश यादव, प्रहरी सहायक हवल्दार सुस्मिता राई, महिला प्रहरी गोमा थापा, डीएसपी गौतमका सुरक्षा गार्ड हनुमान राई माथि हातपात तथा दुर्व्यवहार भएको प्रहरी उपरीक्षक खड्काले बताए ।


