एजेन्सी, असार १२ । रुसको निजी सैन्य समूह वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले मस्कोतर्फको मार्च राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित नभएको स्पष्ट पारेका छन् ।
विद्रोहको धम्की दिएको २४ घण्टा नवित्दै पछि हटेका उनले ११ मिनेट लामो अडियो सार्वजनिक गर्दै प्रस्ट्याएका हुन् ।
यस अडियोमा वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले भनेका छन्, ‘हामी विरोध जनाउनका लागि मार्च गरिरहेका थियौं । सरकार ढाल्न होइन ।’
युक्रेन विरुद्धको लडाइँमा खटिएको वागनर समूहले रुसी सेनाले पर्याप्त हतियार नदिएको र रुसी सेनाले आफ्नै भूमिमा आक्रमण गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । यिनै असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो ।
आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को प्रवेश गर्ने भनेर धम्की दिएर मार्च सुरु गरेपछि रुसमा हलचल मच्चिएको थियो । तर २४ घण्टामै वागनरका अध्यक्ष येवगेनी प्रिगोजिनले पछि हटेको घोषणा गरेका थिए ।
त्यसपछि रुसी सरकारी सञ्चार माध्यमहरुले प्रिगोजिन पछि हटेको र अब बेलारुस जाने बताएका थिए ।
वागनर समूहको विरोध अन्त्य भएपछि पहिलोपटक प्रिगोजिनको अडियो सन्देश सार्वजनिक भएको हो । तर उनी अहिले कहाँ छन् र कहाँबाट अडियो सन्देश सार्वजनिक गरे भन्ने नखुलेको बीबीसीले जनाएको छ ।
उनले भने , ‘वागनर समूहलाई बर्बाद हुनबाट जोगाउने र लडाइँमा भएका गल्तीमा जिम्मेवार बनाउने मार्चको उद्देश्य थियो ।’


