काठमाडौं, १ असार । काठमाडौंको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी नदिएर फेन्सिङ तार काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन साहलाई स्पष्टीकरण सोधेको छ ।
महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगर प्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।
यही विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहित तीजजनालाई स्पष्टीकरण सोधेका हुन् ।
‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईँ (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’ प्राधिकरणले मेयर शाहलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
यस्तै, प्राधिकरणले यही विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।


