काठमाडौं, १ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइएको नभई लुटिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताए ।
उनले बैंक लुटे जसरी बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको बताए । सरकारले लुट्ने क्रम जारी रहेको उनको आरोप छ । अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए ।
‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्ने कुरा स्पष्ट देखिँदैन । यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । जसरी बैंक लुट्दा खेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन्’, उनले भने, ‘बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर, अँध्यारोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रूपमा देखिन्छ । स्वाभाविक हो । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ । लुट्ने प्रवृत्तिको क्रमिक रूपमा जारी नै छ ।’
उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टपसमेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरूको निरीहता भएको बताए । उनले भने, ‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसद माथि नै प्रहार भएको हो कि भन्ने कुराले बढी चिन्ता मलाई लागेको छ । सरकारको प्रवृत्ति जुन देखिएको छ, त्यसमा सरकारको मन्त्रीहरूमा पात्रता देखिँदैन । संसदमा शून्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलव गरिँदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरूले भनेकै छन् ।’


