वडाध्यक्ष यादवलाई व्यक्तिगत प्रतिशोधका कारण फसाइयो : राजु चौधरी


जनकपुरधाम, ३२ जेठ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादवलाई व्यक्तिगत प्रतिशोधका कारण फसाइएको आरोप लगाइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजु चौधरीले कसैको प्रतिशोधका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगराइन चोकमा बोलाई निवेदनको भरमा अनुसन्धानबिना नै वडाध्यक्ष यादवलाई समातेको आरोप लगाएका छन् ।

उनले भने, ‘वडाध्यक्ष बुलन यादव वेदाग व्यक्ति हुन् । आरोप लगाउनु र आरोप प्रमाणित हुनुमा धेरै फरक छ । वडाध्यक्ष यादवको विगत र वर्तमान सबैलाई थाह छ । उनी एक इमान्दार व्यक्ति हुन्, जो आफ्नो तलबभत्ताको पैसा गरिब असहाय व्यक्तिमा बाँड्ने घोषणा पहिले नै गरिसकेका छन् । जसको पुरै पालिकामा सबभन्दा इमान्दार र सरल व्यक्तिको रूपमा पहिचान छ,उही व्यक्तिमाथी झुठो आरोप, लाञ्छना र मानहानी गर्नु पक्कै पनि एक इमान्दार व्यक्तिसँगको अन्याय हो ।’

चौधरीले वडाध्यक्ष यादव निर्दोष रहेको र सो कुरा आगामी दिनमा प्रमाणित हुने दाबी गर्दै षडयन्त्रकारीको षडयन्त्रसमेत विफल हुने जिकिर गरेका छन् ।

‘झुठा आरोप लगाउने व्यक्तिले समाजलाई जवाफ दिनै पर्छ, झुठालाई दण्ड मिल्नै पर्छ, अहिले धेरै कुरा भन्न मिल्दैन । केही दिनमै सबै कुरा प्रष्ट हुन्छ । अनुसन्धान तथा बयानको प्रक्रिया भइरहेकोले बाँकी केही दिनमै अझ धेरै कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँछु, ‘उनले भने, ‘यदी बुलन यादव दोषी ठहर भए म नैतिकताको आधारमा राजनीतिबाट अलविदा घोषणा समेत गर्नेछु किनकि म इमान्दार राजनीतिको वकालत गर्ने मान्छे हो । वडाध्यक्ष यादव सुरूदेखि नै यस्तो फोहोरी राजनीतिमा आउन चाहिरहेका थिएनन् । तर, हामीले जबर्जस्ती ल्याएका हौं, मैले नै उनलाई सिफारिस गरेकोले सम्पूर्ण जिम्मेवारी लिनेछु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले बुधबार साँझ नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई पक्राउ गरेको थियो ।

वडाध्यक्ष यादव र सचिव मिश्रले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिसवापत उपभोक्ता समितिका अध्यक्षसँग ७० हजार रुपैयाँ कमिशन मागेको निवेदनको आधारमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार