जनकपुरधाम, २६ जेठ । धनुषाको मिथिला नगरपालिकामा दुई दिनदेखि लगाइएको ताला शुक्रबार खोलिएको छ ।
बुधबारदेखि नगर प्रमुख महेन्द्र महतो, उपप्रमुख सुनितासिंह बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेको कार्यकक्षमा लगाइएको ताला शुक्रबार सहमतिपश्चात् खोलिएको हो ।
मिथिला नगरपालिकाको ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया रोकिएपछि आक्रोशित स्थानीयले तालाबन्दी गरेका थिए ।
नगरपालिकाले ढल्केवर अस्पतालमा इमरजेन्सी सेवा सञ्चालन गर्नका लागि कर्मचारी भर्ना गर्न जेठ २५ गते आवेदकहरुको अन्तवार्ता लिने कार्यक्रम तय गरेको थियो । तर, एक्कासी कर्मचारी भर्ना प्रक्रिया स्थगित गरिएपछि आक्रोशित स्थानीयले नगरपालिकामा आएर नाराबाजी गर्दै तालाबन्दी गरेका थिए ।
ताला खुल्नुअघि शुक्रबार बिहान उपप्रमुख बुढाथोकीले एक पत्रकार सम्मेलनको आयोजना गर्दै तालाबन्दीको सम्पूर्ण दोषारोपण आफूलगायत नेकपा एमालेका नेता कार्यकर्तामाथि लगाइनु निराधार रहेको सुनाएकी थिइन् । उनले त्यहाँ नाटकिय रुपमा तालाबन्दी गराइएको जिकिरसमेत गरिन् ।
उनले भनिन्, ‘२०७९ साल असोज १२ गते ढल्केवरस्थित अस्पतालमा इमरजेन्सी सेवा सञ्चालन गर्ने भन्दै मेडिकल अफिसर, ल्याब टेक्निसियनर र अनमिका लागि निवेदन आह्वान गरिएको थियो । तर, त्यो कार्यपालिकाबाट निर्णय नै भएको थिएन । त्यसको कार्यविधि पनि बनेको थिएन । हामीले विरोध गरेपछि कार्यपालिकामा नल्याई अनौपचारिक रुपमा स्थगित गरियो । त्यसपछि बैशाखमा कार्यविधि बनाएर हिउँदे सभाबाट पारित भयो । तर, फेरि कार्यपालिकामा नल्याई अन्तवार्ताका लागि पूरानै आवेदनहरुलाई उजागर गरियो । हामीसँग सरसल्लाह नै गरिएन । कार्यविधि नयाँ बनेको अवस्थामा पूरानै आवेदनलाई कसरी अगाडि सारियो भनेर प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृतले यसलाई कार्यपालिकामा राखेर मात्रै अन्तवार्ता लिने भन्दै आफैंले स्थगित गर्नुभयो । यस्तो अवस्थामा नै अन्तवार्ता दिन आउने व्यक्तिहरुले सबैको कार्यकक्षमा तालाबन्दी गरे । हामी कहाँ मुछिएका छौं यसमा ?’

‘इमरजेन्सी सेवा चल्नुपर्छ, तर विधिसम्मत तरिकाले, ’उनले भनिन्, ‘कुनै व्यक्ति अथवा पार्टीलाई घेरेर नगर प्रमुखले एकल रुपले नीति निर्माण गर्न थालेपछि हामीले विरोध जनाएका छौं ।’
उपप्रमुख बुढाथोकीले नगर प्रमुख महतोले एकात्मक आदेशानुसार कार्यक्रमहरु सञ्चालन गर्न थालेको आरोप लगाइन् । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को प्रजातान्त्रिक व्यवस्था अनुसार मिथिला नगरपालिका नचलेको जिकिरसमेत गरिन् ।
पत्रकार सम्मेलनमा उपप्रमुख बुढाथोकीसहित वडा नम्बर–३ का वडाध्यक्ष रामएकवाल महतो, वडा नम्बर–९ का ९ वडाध्यक्ष दिपकजंग थापा, कार्यपालिका सदस्य लक्ष्मी थिङ, नगिना खातुनलगायतकाहरुको उपस्थिती रहेको थियो ।
इमरजेन्सी सेवा सञ्चालनका लागि नगरपालिकाले स्वास्थ्य उपकरणहरु समेत खरीद गरिसकेको छ । २०७९ असोज १२ गते नगरपालिकाले मेडिकल अधिकृत दुईजना, ल्याब टेक्निसियनर एकजना, अनमी चारजना र स्वीपर दुईजना सहितको आवश्यक कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको थियो ।


