जनकपुरधाम, २६ जेठ । नेपाली कांग्रेसका युवा नेताहरुले नागरिकताबाट वञ्चित नेपाली नागरिकले नागरिकता पाउनु पर्ने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार एक संयूक्त विज्ञप्ती जारी गर्दै कांग्रेसका युवा नेताहरुले लाखौं नेपाली नागरिकको भावनामा ठेस पुग्ने गरी उनीहरुका सन्तानको भविष्यमाथि कुठाराघात गर्ने मनसायबाट प्रेरित गलत क्रियाकलापहरु अविलम्ब बन्द गर्न माग गरेका छन् । उनीहरुले प्रचलित नेपालको संविधान २०७२ को पूर्ण कार्यान्वयन गर्दै मौलिक हकका रुपमा रहेको नागरिकता पाउनु पर्ने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘२०६२/०६३ को जनआन्दोलनपछि नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा विसं २०४६ सालअघि स्थायी बसोबास गरिरहेका मानिसहरूलाई २०६३ सालपछि जन्मका आधारमा नेपाली नागरिकता दिइएको थियो । गृह मन्त्रालयको अभिलेखअनुसार २०७२ साल असोज ३ गते नयाँ संविधान जारी हुनुअघि १ लाख ५० हजार जनाले जन्मसिद्ध नागरिकता लिएका थिए । जन्मका आधारमा जारी भएका नेपाली नागरिकताबाहक यी नेपाली नागरिकका अहिलेसम्म अनुमानित ५ लाख सन्तानहरुको भविष्यमाथि नागरिकता सम्बन्धि विधेयकका विषयमा पटक पटक हुँदै आएका क्रियाकलापहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको संविधानको भाग २ (धारा १०, धारा १५) मा नागरिकता सम्बन्धी व्यवस्था अनुसार कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनि उल्लेख रहेको पाइन्छ । यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भनि स्पष्ट रुपमा उल्लेख छ । साथै कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको नागरिकता पाउने उल्लेख छ ।’
नेपाली कांग्रेस महोत्तरीका युवा नेता इ. प्रेमचन्द्र रोयले भने, ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ भनि संविधानमै उल्लेख भएको विषय हो । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुने उल्लेख रहेको जिकिर गर्दै नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने भन्ने स्पष्ट रुपमा लेखिएको हुँदाहुँदै पछिल्लो समय संसदबाट नागरिकता विधेयक पारित भई संविधान अनुसारनै राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि संसददेखि सडकसम्म केही राजनीतिक दल, समुहहरुले गरिरहेको विरोधले लाखौं नेपाली नागरिकको भावनामा चोट पुगेको हामीले महसुस गरेका छौं ।’
संविधान जारी भएको ३ वर्षभित्र कानुन बनाएर संविधान जारी हुनु भन्दा पहिले नेपाली नागरिकता भएका आमा÷बाबुका सन्तानलाई नागरिकता प्रदान गरिनेछ भन्ने स्पष्ट उल्लेख हुँदाहुँदै पनि राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण कहिले यो र कहिले त्यो दलको विरोधका कारण लाखौं युबवाहरुको भविष्यमाथी खेलवाड भइरहेको नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारको आरोप छ ।
विभिन्न समयमा नागरिकता प्रदान गर्न सुरु हुनासाथ सर्वोच्च अदालतमा रिट पर्न गई अदालतबाट नागरिकता वितरण रोक्न द्रुतगतीमा अन्तरिम आदेश जारी हुने तर सो रिटको अन्तिम फैसला वा निकास ननिस्किदा न्याय दिने अदालतबाट लाखौं नागरिकताबिहिनहरुको आवाज सुनवाइ नहुँदा अब न्याय खोज्न कहाँ जाने भन्ने गम्भिर प्रश्न खडा भएको नेपाली कांग्रेसका महासमिति सदस्य एवम् तरुण दल रौतहटका सभापति मो. नैसाद आलम बताउँछन् ।
उनले भने, ‘आम नागरिकहरुलाई दिगभ्रमित गर्ने गरी नागरिकता वितरण सम्बन्धमा सामाजिक सञ्जालहरुमा भ्रम फैलाउने जो कोहीलाई हामी सोध्न चाहन्छौ हाम्रा सन्तानले अमेरिकाको डिभी र अस्ट्रेलियाको पिआर पाउँदा छिमेकीलाई भोज खुवाउने हामी सयौं बर्षदेखी नेपालमा बसोबास गरेर कानुन अनुसार नागरिकता प्राप्ती गरेका नेपालीका सन्तानले नागरिकता प्राप्त गर्नु उसको अधिकार हो कि होइन ?’
नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियार, महासमिति सदस्य एवम् तरुण दल रौतहटका सभापति मो. नैसाद आलम, महाधिवेशन प्रतिनिधि एवम् नेविसंघका पूर्व केन्द्रिय सदस्य निरज अग्रवाल, नेविसंघका पूर्व केन्द्रिय सदस्य विजय राय, नवलपरासी पश्चिमका युवा नेता राकेश गुप्ता, नेविसंघका पूर्व सहमहामन्त्री परमेश्वर साह, विन्ध्याबासिनी गाउँपालिका पर्साका कांग्रेस सभापति विवेककुमार चौरसिया, नेपाली कांग्रेस सप्तरीका युवा नेता इ. अशोककुमार साह, नेपाली कांग्रेस महोत्तरीका युवा नेता इ. प्रेमचन्द्र रोय, नेविसंघका पूर्व केन्द्रिय सदस्य सञ्जिपकुमार यादवलगायतकाहरुले संयूक्त विज्ञप्तीमार्फत यस्तो माग गरेका छन् ।


