मौसम प्रतिकूलताका कारण राष्ट्रपतिको जनकपुरधाम भ्रमण स्थगित


जनकपुरधाम, २३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण स्थगित भएको छ । यही जेठ ३१ गते हुने भनिएको राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण स्थगित भएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मौसम प्रतिकूलताका कारण राष्ट्रपति पौडेलको भ्रमण स्थगित भएको जानकारी दिए ।

उनले राष्ट्रपति कार्यालयबाट मंगलबार साँझ फोनमार्फत उनको जनकपुरधाम भ्रमण स्थगित गरिएकोबारे जानकारी प्राप्त भएको बताए ।

उनले भने, ‘हामीलाई राष्ट्रपतिको कार्यालयबाट नै वहाँको जनकपुरधाम भ्रमण नहुनेबारे फोनमार्फत जानकारी प्राप्त भएको छ । राष्ट्रपतिको कार्यालयले मौसम प्रतिकूलताका कारण भ्रमण स्थगित गरिएको जानकारी दिएको हो । भ्रमणको अर्को मितिबारे हामीलाई औपचारिक जानकारी गराइएको छैन । सम्भवतः अर्को महिना वहाँको जनकपुरधाम भ्रमण हुनेछ ।’

जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गर्ने सर्वदलीय निर्णय भएको थियो । जनकपुरधाम उपमहामनगरपालिकाद्वारा गत जेठ २० गते आयोजित सर्वदलीय बैठकमा सहभागिहरुले तिरहुतिया गाछि मैदानमा राष्ट्रपति पौडेललाई भव्य स्वागत र नागरिक अभिनन्दन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार