एजेन्सी, २२ जेठ । स्पानिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम खेलमा सेल्टा भिगोसँग २–१ ले हार व्यहोरेको छ ।
घरेलु मैदानमा भएको खेलमा गाब्री भेइगा नोभासले दुई गोल गरेपछि सेल्टाले च्याम्पियन बार्सिलोनालाई हराएको हो ।
२१ वर्षिय भेइगाले ६२औं र ६५औं मिनेटमा गोल गरे । बार्सिलोनाका लागि अंशु फातीले ७९औं मिनेटमा एक गोल फर्काए ।
जितपछि सेल्टाले ४३ अंक जोडेर १३औं स्थानमा लिग सकायो ।
त्यस्तै करिम बेन्जेमाले रियलको जर्सीमा अन्तिम खेल खेल्दै पेनाल्टीमा गोल गरेपछि रियलले एथ्लेटिक विल्वाओसँग १–१ को बराबरी खेल्दै लिग सकाएको थियो ।
ओइहान सानचेटले गोल गर्दै विल्वाओलाई पहिले अग्रता दिलाएको थियो । तर बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको थियो ।
बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरिसकेका छन् भने १४ वर्षपछि रियल छाड्न लागेका बेन्जेमा अब साउदी अरबियन क्लबमा प्रवेश गर्ने चर्चा चलेको छ ।


