काठमाडौँ, २२ जेठ । दयाहाङ राई र मिरुना मगरको शीर्ष मुख्य भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’को हङकङ र बेलायतको प्रदर्शनका लागि अधिकार बिक्री भएको छ ।
भदौ २९ गते रिलिजको तयारीमा रहेको फिल्मको एसिया, मध्यपूर्व, अमेरिका र क्यानडाको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको जनाइएको छ ।
हङकङ र बेलायतको अधिकार राइट्स एस अफ स्पाडेस इन्टरटेनमेन्टले खरिद गरेको जनाइएको छ । कम्पनीका तर्फबाट सन्तोष विक र फिल्म ‘नाङ्गो गाउँ’का तर्फबाट निर्मातामध्येका हिमाल शर्माले सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा कार्म, साम्राज्ञी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको समेत अभिनय गरेको छ । नेपालमा प्रदर्शन हुनुअघि हङकङमा प्रमुख कलाकारहरूको उपस्थितिमा प्रिमियर गरिने जनाइएको छ ।
दयाहाङ र मिरुना अहिलेको चर्चित अनस्क्रिन जोडीको रुपमा मानिन्छ । यी दुईले अभिनय गरेका कबड्डी– ४ र जारी बक्स अफिसमा ब्लकबस्टर साबित भएका छन् ।


