जनकपुरधाम, १९ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन थालेको छ । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगरसभामा पेस गरिसक्नुपर्ने छ ।
यसैका लागि बजेट निर्माण अघि रायसुझाव संकलन थालिएको नगर प्रमुख मनोजकुमार साहले बताए । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उनले बताए । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थपरक बनाउन रायसुझाव माग गरिएको साहले बताए ।
जेठ २० गते शनिबारसम्म उपमहानगरमा रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ । जिल्लाका १८ वटै पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्वतयारीमा जुटेका छन् । उनीहरूले स्थानीयसित रायसुझाव माग गरेका छन् ।
कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिको रायसुझाव माग गरेको ति तथा कार्यक्रम आवश्यक पर्ने हो सोही अनुसार सुझाव माग गरिएको उपप्रमुख किशोरी साहले बताए ।
आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई जनकपुरधाम उपमहानगरपालिकाले प्राथमिकता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले बताए । उनले आगामी बजेटमा आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकाले पूर्वाधार (सडक/ढल, भवन लगायत पूर्वाधार) मर्मत, सम्भार तथा निर्माण, सामाजिक सुरक्षा, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, आन्तरिक राजस्व दर र दायरा, कला, साहित्य, संगीत, संस्कृतिक, पर्यटन, पूर्वाधार र प्रवर्धन, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य क्षेत्र र आधारभूत स्वास्थ्य सेवा, कृषि, पशुपंछी, उद्यमशिलता, युवा तथा रोजगार, कानून, न्यायिक प्रणाली, न्याय प्रशासन, मेलमिलाप, इजलास (प्रमूख–उपप्रमूख न्यायिक) र असल शासन र कुशल प्रशासनलगायतको नीति निर्माणका लागि नगरबासीसँग राय सुझाब माग गरेको छ ।


