काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।
भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रदर्शन गरेको हो ।
नेपाली भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रिनु परेको संगठनका नेता सुदीप फुयालले जानकारी दिए । उनले भारतले आफ्नो नक्शाबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी समेत दिए ।
विरोध प्रदर्शनमा उत्रिएकाहरूले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
विरोध प्रदर्शनमा ‘भारतीय विस्तारवाद–मर्दवाद’, ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरिएको थियो ।


