प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता


काठमाडौँ, १८ जेठ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता र संयूक्त बैठकलगायतका कार्यक्रम तय रहेको छ ।

आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएको जनाइएको छ । कार्यसूची उल्लेख भएअनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत रहेको छ ।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने छन् । उपराष्ट्रपतिसँग आज अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । यसका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम हुने छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार