एजेन्सी, १५ जेठ । केही समय देखि भडकिएको जातीय हिंसामा परी मणिपुरमा थप ४० जनाको मृत्यू भएको छ ।
मणीपुरका विभिन्न ५ स्थानमा सेना र आन्दोलनकारी बीच भएको भिडन्तमा ४० जना मारिएका हुन् ।
मणीपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पनि सो संख्या बराबर मारिएको भारतीय सञ्चारमाध्यममा पुष्टी गरे ।
आतंकवादीहरूले निहत्था नागरिकहरूमाथि गोली हानिरहेको उनले बताए । उनीहरूले मणिपुरलाई तोड्न खोजिरहेका भन्दै केन्द्र सरकारको सहयोगमा राज्य सरकारले उनीहरूविरुद्ध कडा कारबाही गरेको सिंहले प्रतिक्रिया दिए ।
मणिपुर पुलिस कमाण्डोले हिजो जातीय हिंसा प्रभावित क्षेत्रहरूमा आठ घण्टा भन्दा बढी आन्दोलनकारीहरुसँग भिडन्त गरेका थिए ।
आन्दोलनकारीहरुले इम्फाल उपत्यका र वरपरका क्षेत्रमा सुरक्षाकर्मी माथि एकैसाथ हमला गरेका थिए । यस क्षेत्रका सेकमाई, सुग्नु, कुम्बी, फ्याङ र सेराउ क्षेत्रहरुमा भएको भिडन्तले त्रासको वातावरण निम्ताएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
मेइती समुदायले अनुसूचित जनजाति (एसटी)को दर्जा दिनुपर्ने माग राख्दै आन्दोलन सुरु भएको थियो । गत मे ३ मा मणिपुरका पहाडी जिल्लाहरूमा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि झडप सुरु भएको थियो । मणिपुरको ५४ प्रतिशत जनसङ्ख्या मेइती समुदायको छ र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बसोबास गर्दै आएका छन् ।
जनजाति नागा र कुकीले जनसंख्याको ४० प्रतिशत ओगटेका छन् । यी दुई समुदायका बीचमा सरकारले वैमनस्यता बढाइदिएको उनीहरूको आरोप रहेको छ ।
मणिपुरमा जातीय द्वन्द्वमा ७० जनाभन्दा बढीको मृत्यू भइसकेको छ भने भारतको उत्तरपूर्वी राज्यमा सामान्य अवस्था ल्याउनका लागि करिब १० हजार बढी सैन्य र अर्धसैनिक कर्मचारीहरू तैनाथ गरेर स्थीति नियन्त्रणमा ल्याउने प्रयास भईरहेको मुख्यमन्त्री सिंहले बताए ।


