सप्तरी, ९ जेठ । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मंगलबार बिहान करिब साढे ९ बजेको समयमा जिल्लाको महादेवा गाउँपालिका–६ ढिक्कली टोल बस्ने २५ वर्षीय जवाहर मण्डलले आफ्नै घरको जस्ता छाउने क्रममा करेन्ट लागेकोमा उनको काका ५१ वर्षीय उमेश मण्डल छुटाउन जाँदा दुबै जनालाई करेन्ट लागेको थियो ।
उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजबिराजमा जवाहरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै, उमेशको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मंगलबारनै रुपनी गाउँपालिका–६ बिरेन्द्र बजार बस्ने ३२ वर्षीय कुमार थापालाई आफ्नै बाँसघारीमा बाँस काट्ने क्रममा बाँस बिजुलिको तारमा छुन गएपछि करेन्ट लागेर घाइते भएको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


