एजेन्सी, ६ जेठ । भारतको केन्द्रीय बैंकले २००० भारतीय रुपैयाँको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय सार्वजनिक गरेको छ ।
भारतीय रिजर्ब बैंक (आरबीआई) ले जनाए अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ ।
साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइने भएको छ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइने जनाइएको छ । नोट बदल्दा अतिरिक्त शुल्क भने लाग्ने छैन ।
बीबीसी हिन्दीले जनाए अनुसार आरबीआईले अब नयाँ २००० भारुको नोट जारी गर्ने छैन ।
आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने नबताएपनि नयाँ निर्देशन आउने सम्भावना भने रहेको छ ।
भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २००० भारुको नोट जारी भएको थियो भने त्यो बेला ५०० र १००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २००० भारुको नोटलाई चलनचलतीमा ल्याइएको थियो ।
जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २००० भारुको नोट छाप्न रोकिएको थियो ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो ।


